काठमाडौं, २३ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग जारी छ । एन्फाले यसपटक ‘बी’ डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सञ्चालन गर्ने भएको छ ।

१४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल भइरहेका छन् । एन्फाले १८ फागुनबाट सुरु गरेको लिगको १४ खेल समाप्त भइसकेका छन् ।

सम्पूर्ण टिमले दुई–दुई खेल खेलेसँगै आज लिगलाई विश्राम दिइएको छ । लिगका ७७ खेल बाँकी रहँदा ५० गोल पूरा भएका छन् । औसतमा प्रत्येक खेलमा ३ दशमलव ५७ गोल भएका छन् ।

जारी लिगमा चर्च ब्वाइज युनाइटेड र टुसाल युथ क्लब तथा मध्यपुर युथ एसोसिएसन र सामाजिक युथ क्लबबीच सर्वाधिक ७–७ गोल भएका छन् । दुबै खेलमा ५–२ अन्तरका टुंगिएको थियो । जारी लिगमा बाँसबारी क्लब र टुसाल युथ क्लबीचको खेल मात्र गोलरहित बराबरीमा टुंगिएको छ ।

दुई चरणको खेल सकिँदा चर्च ब्वाइजले सर्वाधिक ७ गोल गरेको छ भने मध्यपुर युथ एसोसिएसन, श्रीकुमारी क्लब तथा सामाजिक युथ क्लबले ५–५ गोल गरेका छन् ।

जारी लिगमा दुई खेलमा सतप्रतिशत जित निकालेका चर्च ब्वाइज युनाइटेड र श्रीभगवती क्लब समान ६ अंक भए पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

चार अंकको सरस्वती युथ क्लब तेस्रो स्थानमा छ । यस्तै, समान तीन अंक भए पनि मध्यपुर, खुमलर युथ क्लब, रानीपोखरी कर्नर टिम आरसिटी, ब्वाईज युनियन क्लब क्रमशः चौथोदेखि सातौं स्थानमा छन् ।

यस्तै, नयाँबस्ती युथ क्लब र श्रीकुमारीको समान दुई अंक रहेको छ र क्रमशः आठौं र नवौं स्थानमा छन् । यता, समान एक अंकका विरगंज युनाइटेड, झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, सामाजिक युथ क्लब र टुसाल युथ क्लब क्रमशः १० औं देखि १४ औं स्थानसम्म छन् ।

सामाजिक युथ र टुसाल भने रेलिगेसन क्षेत्रमा छन् । लिगका शीर्ष दुई क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।