आइसिसी महिला एक दिवसीय विश्वकपमा आयोजक न्युजिल्यान्ड विजयी

एजेन्सी, २३ फागुन । आइसिसी महिला एक दिवसीय विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा आयोजक न्युजिल्यान्ड विजयी भएको छ । न्युजिल्यान्डले बंगलादेशलाई ९ विकेटले पराजित गरेको हो ।
वर्षाका कारण २७ ओभरमा झारिएको खेलमा न्युजिल्यान्डले १४१ रनको लक्ष्य २० ओभरमा मात्र १ विकेट गुमाएर पूरा ग¥यो ।
न्युजिल्यान्डलाई जित दिलाउन सुजी बेट्स अविजित ७९ रनको योगदान दिइन् । ७८ बलको सामना गरेकी उनले ८ चौका प्रहार गरिन् ।
अमेलिया केर ४७ रनमा अविजित रहदा कप्तान सोफी डेभिनले १४ रन बनाइन् ।
बंगलादेशका लागि एकमात्र विकेट सलमा खातुनले लिईन् ।
यसअघि डुनेडिनस्थित युनभरसिटी ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २७ ओभरमा ८ विकेट गुमाएर १४० रन जोडेको थियो ।
बंगलादेशका लागि फरगना हजले सर्वाधिक ५२ रन बनाइन् । ६३ बलको सामना गरेकी उनले १ चौका प्रहार गरिन् । शमिमा सुल्तान ३३ रन जोडिन् ।
न्युजिल्यान्डका लागि एमी साटरथ्वेटले सर्वाधिक ३ तथा हेली जेनसेन र फ्रान्सेस म्याकीले एक–एक विकेट लिँदा ३ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो जितसँगै प्रतियोगितामा पहिलो जित निकालेको न्युजिल्यान्डले २ खेलमा २ अंक जोडेको छ । उ पहिलो खेलमा वेस्ट इन्डिजसँग ३ रनले पारजित भएको थियो ।
लगातार दोस्रो खेलमा पराजित बंगलादेश अंकविहिन छ । उसले पहिलो खेलमा दक्षिण अफ्रिकासँग ३२ रनको हार बेहोरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


