नेपाली कांग्रेस धनुषा : ९१ पदमा २४० जनाको उम्मेदवारी, सोमबार निर्वाचन हुँदै

जनकपुरधाम, २२ फागुन । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनअन्तर्गत सोमबार निर्वाचन हुन लागेको छ ।
बिहीबारबाट सुरु भएको जिल्ला अधिवेशनको चुनावी प्रक्रिया सोमबार हुने भएको हो ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन अधिकृत अरुण ज्ञवालीले सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचनका लागि समय निर्धारण गरिएको जानकारी दिएका छन् ।
उनले विभिन्न ९१ पदका लागि हुनलागेको निर्वाचनमा १० वटा ब्यालेट तयार गरिएको बताए ।
उनले भने,‘निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । सोमबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा निर्वाचन सुरु हुनेछ । निर्वाचनमा हामीले ८० जना कर्मचारी खटाएका छौं ।’
नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि विभिन्न ९१ पदमा २४० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस धनुषामा ३ हजार १९७ मतदाता रहेका छन् ।
कांग्रेस धनुषा हाक्ने गरी जिल्लामा ३ जना प्रभावशाली नेताबिच प्रतिस्पर्धा हुनलागेको हो । सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जना चुनावी मैदानमा छन् ।
संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सन्तोष यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् भने संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् । पजियार विमलेन्द्र निधि गुटका हुन भने प्रसैला शेखर कोइराला गुटका ।
त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ ।
निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


