एजेन्सी, २२ फागुन । अस्ट्रेलियन महान क्रिकेटर शेन वार्नको सम्मान स्वरूप मेलबर्न क्रिकेट स्टेडियममा ‘शेन वार्न स्टयान्ड’ राखिएको छ । मेलबर्न मैदानको ग्रेट साउदर्न स्टयाण्डको नाम परिवर्तन गर्दै शेन वार्न नामाकरण गरिएको हो ।

वार्नको ५२ वर्षको उमेरमा शुक्रबार थाइल्याण्डमा निधन भएको थियो । उनको निधन हृदयघातका कारण भएको आशंका गरिए पनि विस्तृत जनाकारी भने आइसकेको छैन ।

विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अस्ट्रेलियाका लागि १४५ टेस्ट र १९४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले टेस्टमा ७०८ विकेट र एकदिवसीय अन्तर्राष्ट्रियमा २९३ विकेट लिएका थिए ।

टेस्टमा वार्न श्रीलंकन स्पिनर मुथैया मुरलीधरण (८०० विकेट) पछि सर्वाधिक विकेट लिने बलर हुन् । सन् १९९९ मा अस्ट्रेलियालाई विश्वकप जिताउन उनले उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए ।

वार्नले सन् १९९२ मा भारतविरुद्ध पहिलो र २००७ मा इङ्ल्याण्डविरुद्ध अन्तिम टेस्ट खेलेका थिए ।