आइसिसी महिला एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजको विजयी शुरुवात

एजेन्सी, २० फागुन । आइसिसी महिला एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजले विजयी शुरुवात गरेको छ । उसले उद्घाटन खेलमा आयोजक न्युजिल्यान्डमाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो ।
२६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड तीन बल बाँकी रहँदा २५६ रन बनाउँदै अलआउट भयो ।
न्युजिल्यान्डका लागि कप्तान सोफी डेभिनले १०८ रनको शतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन भने सकिनन् । १२७ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन् । केट मार्टिनले ४४ र एमी सेटरथवेटले ३१ रन बनाए ।
वेस्ट इन्डिजका लागि हेली म्याथ्यूज, अनिसा मोहम्मद र डियन्द्र डोटिनले २–२ तथा चनेली हेनरी र सकेरा सेलमनले १–१ विकेट लिए । २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि माउन्ट माउन्गानुईमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि हेली म्याथ्यूजले ११९ रनको शतकीय पारी खेलिन् । १२८ बलको सामना गरेकी उनले १६ चौका र १ छक्का प्रहार गरिन् । चडिन नेसनले ३६ र कप्ता स्टेफिनी टेलरले ३० रनको योगदान दिए ।
न्युजिल्यान्डका लागि ली टाहुहुले सर्वाधिक ३, जेस केरले २ तथा हनाह रोवी र अमेलिया केरले १–१ विकेट लिँदा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


