काठमाडौं, १९ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिगका ८ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन् ।

यसअघि पनि खेलाडीहरूको उपलब्धतालाई लिएर विज्ञप्ति जारी गरेका क्लबले आफूहरूसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा एन्फाले आफूहरूको मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन् ।

ए डिभिजन लिगका आठ क्लबहरूले अक्सनका लागि एनएसएल आयोजकले आफूहरूसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाशिघ्र सम्बोधन हुनुपर्ने माग गरेका छन् । यसो नभए यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार एन्फा नै हुने विज्ञप्तिमा उल्लेख छ ।

यस पटक एनएसएलमा १० क्लब रहनेछन् । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।