जनकपुरधाम, १९ फागुन । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनुषा जिल्ला अधिवेशनको लागि बिहीबारबाट चुनावी प्रक्रिया सुरु भएको छ ।

कांग्रेस धनुषा हाक्ने गरी जिल्लामा ३ जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि ३ जनाले मनोनयन दर्ता गराएका हुन् । संस्थापन पक्षधबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति समेत रहेका संतोष यादवले सभापति पदमा मनोनयन दर्ता गराएका छन् भने संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर समेत रहेका योगेन्द्र पजियार र संविधान सभा सदस्य समेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् । पजियार विमलेन्द्र निधि गुटका हुन भने प्रसैला शेखर कोइराला गुटका छन् ।

त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ ।

निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।