बुधबारको दोस्रो खेलमा सरस्वती युथ क्लबको जित

काठमाडौं, १८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन अन्तर्गत बुधबारको दोस्रो खेलमा सरस्वती युथ क्लबले जित हात पारेको छ ।
सरस्वतीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बाँसबारी क्लबलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
खेलको छैटौं मिनेटमा विकी राईको गोलमार्फत् बाँसबारीले अग्रता लिएको थियो । २० औं मिनेटमा विक्रम बिसुन्खेले सरस्वतीलाई १–१ को बराबरीमा ल्याए ।
८६ औं मिनेटमा सृजन लामाले गोल गर्दै टोलीलाई २–१ ले अघि बढाए । थप गरिएको समयमा भुपेन्द्र शाहीले गोल गरेपछि सरस्वतीले ३–१ को सहज जित हात पारेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबमाथि ३–१ कै जित हात पारेको थियो ।
१४ टोलीको सहभागिता रहेको लिगका शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


