काठमाडौं, १८ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ ।

सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर शुक्रबार बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा बस्नेछ ।

माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ । यसपटक भने सर्ने संभावना कम रहेको माओवादी नेताहरु बताउँछन् ।

संसदबाट एमसीसी अनुमोदन भएपछि माओवादीभित्र तीव्र असन्तुष्टि बढेको छ । नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतले व्याख्यात्मक टिप्पणीमार्फत एमसीसी पास गर्ने निर्णयप्रति असन्तुष्टि जनाइरहेका छन् ।

बैठकमा पार्टीभित्रको चर्को असन्तुष्टि समाधान गर्नका लागि छलफल हुने बताइएको छ । साथै, केन्द्रीय समिति बैठकले बाँकी रहेका पदाधिकारी पनि चयन गर्ने सम्भावना छ ।