काठमाडौं, १७ फागुन । नेपाल खेलकुद महासंघ (नेकोस) सुदूरपश्चिम कमिटीको अध्यक्षमा प्रकाशकुमार चन्दलाई चयन गरिएको छ ।

धनगढीमा सम्पन्न प्रथम अधिवेशनले चन्दको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।

चन्द कराँतेका अन्तर्राष्ट्रिय खेलाडीका साथै प्रशिक्षक एवं निर्णायकसमेत हुन् । उनले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलाली पूर्वअध्यक्ष र राष्ट्रिय गोजुरीयो कराँते संघमा महासचिव पदको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

त्यस्तै, बक्सिङ र भलिबल राष्ट्रिय खेलाडी कोपीला सिंह शाही नेकोसको सुदूरपश्चिम उपाध्यक्षमा चयन भएकी छन् । त्यस्तै, अर्का भलिबल खेलाडी हिक्मत रावलले पनि उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका बोर्ड सदस्यसमेत रहेका कराँतेका प्रकाश विक सचिवमा चयन भए । त्यस्तै, क्रिकेट खेलाडी सुरेश बोहरा तथा भलिबल खेलाडी कृष्ण रोकाया उपसचिवमा निर्वाचित भए ।

ब्याडमिन्टनका राष्ट्रिय खेलाडी एवं निर्णायक दुर्गा भण्डारी कोषाध्यक्षमा चयन भएकी छन् । उनी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीकी अध्यक्ष पनि हुन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनीयताको सपथग्रहण गराए ।

नेकपा एमालेका सचिव लेखराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट एवं एथलेटिक्सका तेजेन्द्र थापालाई नगदसहित सम्मान गरिएको छ ।

अधिवेशनमा सुदूरपश्चिमका नौवटै जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।