एजेन्सी, १७ फागुन । दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा १९८ रनको शानदार जित हात पारेको छ ।

योसँगै दुई खेलको सिरिज १–१ को बराबरीमा टुंगिएको छ । पहिलो टेस्टमा न्युजिल्याण्ड एक पारी र २७६ रनले विजयी भएको थियो ।

दोस्रो खेलमा ४२६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड खेलको पाँचौं दिन २२७ रनमा अलआउट भयो । दोस्रो पारीमा न्युजिल्याण्डका लागि डेभन कन्वेले सर्वाधिक ९२ रनको योगदान दिए । १८८ बलको सामना गरेका उनले १३ चौका प्रहार गरे ।

टम टम ब्लन्डेलले ४४ र डारेल मिचेलले २४ रन बनाए । बलिङमा केशव महाराज, मार्को जेनसन र केशव महाराजले सर्वाधिक तीन÷तीन विकेट लिए । दोस्रो पारीमा दक्षिण अफ्रिका काइल भेरेनेले अविजित १३६ रनको पारी खेले । १८७ बलको सामना गरेका उनले १६ चौका र १ छक्का प्रहार गरे ।

कागिसो रावडाले ४७ र रस्सी भान डेर डुसेनले ४५ रन बनाए । न्युजिल्याण्डका लागि टिम साउदी, म्याट हेनरी, काइल जेमिसन, निल वाग्नरले दुई÷दुई तथा कोलिन डि ग्रान्डहोमले एक विकेट हात पारे ।

त्यसअघि क्राइस्टचर्चस्थित हेग्ले ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले पहिलो पारीमा सबै विकेट गुमाउँदै ३६४ रन बनाएको थियो । उसका लागि सारेल इर्वीले १०८ रनको शतकीय पारी खेले ।

२२१ बलको सामना गरेका उनले १४ चौका प्रहार गरे । एडन मार्करमले ४२ र डिन इल्गरले ४१ रन बनाउँदा मार्को जनसेन ३७ रनमा अविजित रहे । न्युजिल्याण्डका लागि निल वाग्नरले चार, म्याट हेनरीले तीन, काइल जेमिसनले दुई तथा टिम साउदीले एक विकेट लिए ।

न्युजिल्याण्ड पहिलो पारीमा २९३ रनमा समेटिएको थियो । उसका लागि कोलिन डि ग्रान्डहोमले अविजित १२० रनको पारी खेले । १५८ बलको सामना गरेका उनले १३ चौका र तीन छक्का प्रहार गरे । डारेल मिचेलले १३४ बलमा ८ चौकासहित ६० रन बनाए । हेनरी निकोलसले ३९ र निल वाग्नरले २१ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रावडाले पाँच, मार्को जनसेनले चार तथा केशव महाराजले एक विकेट हात पारे । दक्षिण अफ्रिकाले ९ विकेट गुमाउँदै ३४५ रन बनाएपछि दोस्रो पारी समाप्तीको घोषणा गरेको थियो । उसका लागि काइल भेरेनेले अविजित १३६ रनको पारी खेले ।