एमाले धनुषामा विवाद, जिल्ला कमिटीको बैठकबारे अध्यक्ष र सचिवको छुट्टाछुट्टै विज्ञप्ती

जनकपुरधाम, १६ फागुन । नेकपा एमाले धनुषामा विवाद बढेको छ ।
सोमबार हुने भनिएको जिल्ला बैठकलाई लिएर दुई छुट्टाछुट्टै विज्ञप्ती जारी हुँदा विवाद सतहमा आएको हो ।
एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमबार बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित गरेका छन् भने सचिव तेज नारायण यादवले बैठक स्थगित नभएको भन्दै अर्को विज्ञप्ति जारी गरेका छन् ।
अध्यक्ष यादवले धनुषामा केही पालिका र वडामा बाँकी रहेको अधिवेशन सम्पन्न गर्नका लागि बैठक स्थगित गरिएको बताएका छन् । तर जिल्ला सचिव यादवले भने बैठक स्थगितबारे भ्रम फैलाइएको दावी गरेका छन् ।
यस सम्बन्धमा जिल्ला अध्यक्ष यादवले विभिन्न पालिकाहरुमा अधिवेशन गर्न बाँकी रहेकोले आफूले औपचारिक रुपमै आज हुने भनिएको जिल्ला कमिटीको बैठक स्थगित गरी छलफलमा जुटेको बताए । उनले सचिव यादवले आफ्नो गुटको भेला गरिरहेको दावी गरे ।
यता जिल्ला सचिव तेज नारायण यादवले फागुन ५ गतेको जिल्ला कमिटीको पूर्ण बैठकबाट सर्वसहमतिले फगुन २७ र २८ गते जिल्ला कमिटीको अधिवेशनको मिति तोकिसकेको र अधिवेशनको तयारीको लागि फागुन १६ गते जिल्ला कमिटीको बैठक बस्ने सोही बैठकले निर्णय गरेकोमा बैठक स्थगित गरिएको भ्रम फैलाइएको जिकिर गरेका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


