महिला टि–२० च्याम्पियनसिपमा प्रदेश–१ को दोस्रो जित

काठमाडौं, १५ फागुन । ललितपुर मेयर महिला टि–२० च्याम्पियनसिपमा प्रदेश–१ ले दोस्रो जित हात पारेको छ । उसले आइबार भएको आफ्नो अन्तिम खेलमा ललितपुर मेयर–११ लाई २२ रनले हराएको हो ।
१२० रनको लक्ष्य पछ्याएको ललितपुरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।
ललितपुरका सुमन खतिवडाले सर्वाधिक ४४ रनको योगदान दिइन् । ३९ बलको सामना गरेकी उनले चार चौका प्रहार गरिन् । अञ्जली विश्वकर्माले २१ र अस्मिना कर्माचार्यले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रदेश–१ का लागि अलिस खडियाले तीन, सवनम राईले दुई तथा ज्योति दुनुवार र संगीता राईले एक–एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो। सन्तोषी चौधरीले रिटायर्ड हर्ट हुँदै मैदान छाडिन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश–१ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।
प्रदेश–१ का लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान दिइन् । ४३ बलको सामना गरेकी उनले सात चौका प्रहार गरिन् । कप्तान रुविना क्षेत्रीले ३९ र अप्सरी बेगमले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ललितपुरका लागि खुसी डंगोलले दुई तथा अनुराधा चौधरीले एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो । जितका साथ प्रतियोगिताको अन्त्य गरेको प्रदेश–१ ले चार खेलमा चार अंक जोड्यो चारै खेल गुमाएको ललितपुर अंकविहिन बन्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


