काठमाडौं, १५ फागुन । फ्रेन्च लिग वानमा आइतबार बिहान सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।

पिएसजीले घरेलु मैदान पार्क डेस प्रिन्सेसमा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै सेन्ट इटिएनमाथि ३–१ को जित हात पारेको हो ।

खेलको १६ औं मिनेटमा डेनिस वोउएंगाले पाहुना टोलीलाई अग्रता दिलाए । ४२ औं मिनेटमा केलियन एमबाप्पेले पिएसजीलाई १–१ को बराबरीमा ल्याए । उनले लियोनल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए ।

४७ औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए । ५२ औं मिनेटमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीलाई ३–१ को सहज जित दिलाए । उनले एमबाप्पेको पासमा गोल गरेका थिए ।

यो जितसँगै शीर्ष स्थानको पिएसजीले २६ खेलमा ६२ अंक जोड्दा पराजित सेन्ट इटिएन समान खेलबाट २२ अंकका साथ १६ औं स्थानमा छ ।