जनकपुरधाम, १५ फागुन । विभिन्न ५ बुँदे प्रस्ताव पारित गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय भेला सम्पन्न भएको छ ।

भेलाबाट लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका प्रभावशाली नेता वृशेषचन्द्र लाललाई तमलोपाको अध्यक्ष बनाइएको छ । त्यस्तै पार्टीको वरिष्ठ नेता संविधान सभा सदस्य डा. विजय कुमार सिंह बनेका छन् ।

पार्टी अध्यक्ष रविशंकर लाल कर्णको अध्यक्षतामा भएको भेलाबाट लाल सहित ५५ सदस्यीय नयाँ कार्यसमितिसमेत निर्माण गरिएको छ ।

भेलामा पाँच वटा प्रस्ताव समेत पेश गरिएको छ । प्रस्ताव १ पार्टीका केन्द्रिय सदस्य रामजी रायले प्रस्तुत गरेका छन् भने प्रस्ताव २ अञ्जना दत्त, प्रस्ताव ३ उमेश मण्डल, प्रस्ताव ४ दिलिप पाण्डे र प्रस्ताव ५ धुब्र प्रसाद साहले प्रस्तुत गरे ।

प्रस्ताव १

मधेश विद्रोह जातिय र क्षेत्रीय भेदभाव विरुद्ध पहिचान, समानता, सम्मान र समान नागरिक अधिकार नितिको संघर्ष हो । यो वास्तवमा मधेशको जनताको निमित्त मात्र होइन, देशभरिको नेपालको जनताको आकांक्षा हो ।

मधेशले उठाएको एजेन्डाको सम्बोधनले देश विविधताको सम्मान सहितको अनेकतामा एकताको सबल देशको रुपमा परिणत हुनेछ । हरेक किसिमको भेदभावको अन्त्यको मार्ग प्रशस्त हुन्छ । हाम्रा प्रातःस्मरणीय शहीदहरू यसैका लागि प्राणको आहुति दिए । हजारौं आन्दोलनकारीहरूले यसैको निमित्त रगत बगाए।

यसै संघर्षको सफल सञ्चालनको निमित्त मधेशका जनताले मधेशको आफ्नै राजनीतिक शक्तिको आकांक्षा राखेको हो र यसै कारणले मधेश केन्द्रित दलहरुलाई सहयोग र समर्थन गरेको हो । मधेश केन्द्रित दलहरू एउटै छाता मुनि संगठित भएर आन्दोलनलाई निरन्तरता देओस् भन्ने पनि मधेशी जनताको चाहना रहेकै हो । तर, नेतृत्ववर्गमा त्यसको निमित्त आवश्यक सामर्थ्य देखिएन ।

हरेक पटकको आन्दोलनको उर्जा सत्ता र सरकारको निमित्त मधेश बिरोधीहरुकै समक्ष अर्पित गरियो । सबै एकीकरण वा विभाजनको अन्तिम परिणाम यही देखियो । अहिले यी नेतृत्व पंक्ति मधेश नामबाट समेत हर्किरहेका छन् । यस्तोमा मधेशका तमाम आन्दोलनकारीहरु संघर्ष समानता र सम्मानको मधेशको पहिचानको – निमित्त एकै स्थानमा संगठित हुनुको विकल्प छैन ।

आन्दोलनकारीहरूको नेतृत्वमा संगठित भएको उनको आफ्नै राजनीतिक शक्तिको निर्माण नितान्त आवश्यक भएको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीको स्थापना यसै प्रयोजनको निमित्त भएको हो । तराई–मधेश लोकतान्त्रिक पार्टी देशभरिका तमाम आन्दोलनकारी साथीहरुलाई पार्टीमा समावेश भई यस अभियानको यात्रालाई सफल पार्न आह्वान गर्दछ ।

प्रस्ताव २

पहिचान, समानता, सम्मान र समान नागरिक अधिकारका निमित्त शान्तिपूर्ण मधेश आन्दोलनमा सहभागी भएकै कारण आन्दोलनकारीहरूमाथि मुद्दा चलाइएका छन् र कारागारमा राखिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निमित्त यो निश्चय नै शोभनीय होइन । नेपालमै भएका अन्य आन्दोलनकारीहरुसंग संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राज्यको यस्तो व्यवहार भएको छैन ।

यो ठाडो विभेद हो । तराई–मधेश लोकतान्त्रिक पार्टीको आजको यो भेला मधेश आन्दोलनमा सहभागी भएकै कारणबाट चलाइएका सबै मुद्दाहरूको खारेजी र कारागारमा रहेकाहरूको तत्काल रिहाईको मांग गर्दछ ।

प्रस्ताव ३

संविधान जारी भएको ६ वर्ष ५ महीना १२ दिन भइसक्दा पनि नागरिकता सम्बन्धी ऐनको आभावमा लाखौँ व्यक्ति नेपालको नागरिक भएर पनि नेपालको नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सकिरहेका छैनन् । तिनको नागरिक अधिकारको उपभोग बाधित छ । तिनको शिक्षा, स्वास्थ्य, व्यवसाय रोजगार, यात्रा भ्रमण आदि व्यवधानमा परेको छ ।

यसको एक मात्र कारण प्रतिनिधिसभामा नागरिकता सम्बन्धी विधेयक अनावश्यक लम्वित गरेर राखिनु हो । यसलाई जिम्मेवारीपूर्ण कार्य कदापि भन्न सकिन्न ।

नेपालको संविधानको धारा ३०४ मा यो संविधान प्रारम्भ हुँदाको बखत कायम रहेका नेपाल कानून खारेज वा संशोधन नभएसम्म लागू रहने’ भनिए तापनि सरकार र सम्बन्धित प्रशासनिक अधिकारीहरु संवैधानिक प्रावधानको पालना नगरी एकातिर संवैधानिक व्यवस्थाको उल्लंघन र अर्कोतिर नेपालको जनतालाई सास्ती दिने कार्य गरिरहेका छन् ।

तराई–मधेश लोकतान्त्रिक पार्टी प्रतिनिधिसभाका सबै माननीय सांसदहरूमा लम्वित रहेको नागरिकता सम्बन्धी विधेयक आगाडि बढाई जनताको नागरिकताको समस्या समाधान गर्न आग्रह गर्दछ ।

प्रस्ताव ४

नेपाल सरकारले विभिन्न क्षेत्रमा समावेशिताको लागि प्रदान गर्दै आएको आरक्षण कोटाको पुर्नव्याख्या, परिमार्जन र सो अनुरुपको व्यवस्थापन आवश्यक देखिन्छ ।

समाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपले पछाडि पारिएका मधेशी, दलित, अदिवासी जनजाति, महिला र मुस्लिमका लागि प्रदान गरिदै आइएको आरक्षण कोटामा मधेशीदलित, मधेशीआदिवासी, मधेशीजनजाति, मधेशीमहिला र मधेशीमुस्लिमलाई पहुँच, प्रतिनिधित्व र सहभागिताबाट वंचित गर्ने गरिएको छ ।

संघीय संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य सेवा सुविधाहरुमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा यी कल्सटरहरुको कोटा संख्याको जनसंख्याको अनुपातमा हुन आउने भाग मधेशका दलित, आदिवासी, जनजाति, महिला र मुस्लिमले पाउनु पर्दछ र मधेशी आयोग, थारु आयोग, दलित आयोग, मुस्लिम आयोग, समावेशी आयोग तथा महिला आयोग समेतमा समाजिक न्याय सिद्धान्त अनुरुप यीनको सहभागिता निश्चित गरिनु पर्दछ ।

संविधानको मर्म र भावना अनुसार यस न्यायोचित विषय वस्तुको शिघ्र सम्वोधन गर्न आजको यो केन्द्रीय भेला नेपाल सरकारसंग जोडदार मांग गर्दछ ।

प्रस्ताव ५

प्रथम र द्वितीय विश्वयुद्धको विभिषिका र परिणामको दुःखद तथा त्रासदीपूर्ण नियतिलाई हृदयगम गरी विश्वका सबै देशहरू आगाडि कुनै पनि स्थितिमा त्यस्तो विभिषिका हुन नदिने प्रण गरेका थिए ।

द्वितिय विश्वयुद्धदेखि अहिलेसम्म त्यस्ता खतरा देखिएका समस्याहरूको संयमपूर्वक हल गर्ने प्रयास भएका छन् । युद्धको आगो आगाडि नसल्कियोस् भन्ने कुरामा परमाणविक क्षमता भएका महाशक्ति राष्ट्रहरु विशेष सचेष्ट रहँदै आएका छन् ।

हाल युक्रेनमाथि रुसबाट भएको आक्रमण अप्रत्याशित र दुखद छ । खास गरी रुस जस्तो परमाणविक महाशक्तिराष्ट्रबाट भएको यस भीषण आक्रमणले हुने निर्दोष मानवीय क्षतिलाई कदापि उचित मान्न सकिन्न । यसले विश्वयुद्धको आशंका मात्र बढेको छैन मानवजाति नै खतराको संघार उभ्याइएको ब् देखिन्छ । आजको यो भेला यस युद्धको तत्काल अन्त्य गरी शान्तिपूर्ण र संवादको माध्यमबाट समाधानको बाटो खोज्न सम्बन्धित पक्षसंग आग्रह गर्दछ ।

यस्तो छ तमलोपाको नयाँ केन्द्रीय कार्यसमिति :

१. वृषेश चन्द्र लाल (अध्यक्ष)
२. डा. विजय कुमार सिंह (वरिष्ठ नेता)

सदस्यहरु :
३. अञ्जना दत
४. अर्चना ठाकुर
५. इन्दुदेवी
६. ई. बीरेन्द्र यादव
७. ईश्वर पण्डित
८. उमेश कुमार मण्डल
९. गुरुशरण यादव

१०.गौरीशंकर सिंह

११. जगन्नाथ चौधरी
१२. जयनन्दन सहनी
१३. जयनाथ नायक
१४. जयनाथ मण्डल
१५. जहीर अहमद
१६. दिलिप कुमार पाण्डेय
१७. धीरेन्द्र सिंह
१८. ध्रुव प्रसाद साह
१९. नवरतन मुरारका
२०. नवीन कुमार सिंह
२१. नवीन सिंह
२२. निर्मला झा
२३. बिन्दु ठाकुर
२४. बिपिन ठाकुर
२५. बिमला साह
२६. ब्रजकिशोर सिंह
२७. भागिरथ कर्ण
२८. भोलानाथ झा
२९. मदन सिंह
३०. महेन्द्र यादव
३१. मुक्तिनारायण यादव
३२. मो. असगर अली
३३. योगेन्द्र राय
३४. रजिया बेगम
३५. रमेश अधिकारी
३६. रविन्द्र वर्मा
३७. रविशंकर कर्ण
३८. राजकिशोर मण्डल
३९. राजेश जलान बिद्रोही
४०. राधिका देवी
४१. रामचन्द्र साह
४२. रामजी राय
४३. रामतुल्लाह खान
४४. रामनगीना पासवान
४५. रामनारायण सिंह
४६. शरद कुमार मण्डल
४७. शान्ति सिंह
४८. शेलादेवी झा
४९. श्याम साह
५०. श्यामोदेवी दास
५१. सतीश लाल दास
५२. सरस्वती कर्ण
५३. सुनील कर्ण
५४. सुनील तिवारी
५५. सुहैल अहमद