काठमाडौं, १४ फागुन । विद्याभूषण पब्लिक स्कुल गेटा कैलालीलाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले छैठौं संस्करणको लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

उपाधिसहित सत्यवती एकेडेमीले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेता विद्याभूषणले ७५ हजार रुपैयाँ प्राप्त पाएको हो । धनगढीको प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विद्याभूषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा विद्याभूषणका नुरेन बिस्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सत्यवती एकेडेमीको बलिङमा युवराज खत्री र निरज भट्टले समान तीन÷तीन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई÷दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो । सत्यवतीको ब्याटिङमा अन्डर–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका ओपनर सन्तोष कार्कीले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै सर्वाधिक ९८ रन बनाए ।

यस्तै, खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे । आदील अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए ।

सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिङ साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो । चौंथो विकेटको लागि आदील अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे ।

विद्याभूषणका बलर प्रदीप चन्दले तीन विकेट तथा वीरेन्द्र नाथले एक विकेट लिए । महँगो सावित भएका टिम कप्तान शेरले ४ ओभर बलिङ गर्दा ७९ रन खर्चेर विकेटविहीन रहे ।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए, जसले २० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै उत्कृस्ट ब्याट्सम्यान विद्याभूषणका वीरेन्द्र नाथ तथा उत्कृस्ट बलर हिमालयन ह्वाइट हाउसका दीपक बोहरा घोषित भए, जसले जनही दश हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए जसले १० हजार रुपैयाँ प्राप्त गरे । २ फाल्गुनदेखि सुरु भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।