जनकपुरधाम, १३ फागुन । मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पार्टीबाट सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले अहिलेसम्म कुनै काम गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय महेन्द्रनारायण निधिको शतवार्षिकी जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै मिश्रले पार्टीको हित भन्दा पनि मन्त्री यादव आफ्नो आसेपासे र नातागोतामा मात्र केन्द्रित बनेको आरोप लगाए ।

नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नम्बर–३ ले शुक्रबार जनकपुरधाममा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले मन्त्री यादवले महेन्द्र नारायण निधि र रामनारायण मिश्रको नाममा ६ महिना अगाडि नै करोडौंको योजना घोषणा गरेपनि अहिलेसम्म डिपिआर समेत बनाउन नसकेको भन्दै गुनासो समेत पोखे ।

मिश्रले अहिले कांग्रेसमा आपसी सदभाव र सहयोग समाप्त भई गुट र उपगुटको राजनीति चलिरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस धनुषा क्षेत्र नंं ३ का क्षेत्रिय सभापति श्याम निधिको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रिय सदस्य रामकृष्ण यादवलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।