नेकपा माओवादी केन्द्र आफ्ना मन्त्रीहरुलाई सरकारबाट आजै फिर्ता बोलाउने तयारीमा

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई सरकारबाट आजै फिर्ता बोलाउने तयारी गरेको छ ।
पछिल्लो समय एमसीसीबारे सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँग मत बाझिएपछि नेकपा माओवादी केन्द्र सरकारमा रहिरहन नैतिक संकटमा छ ।
सरकारबाट कहिले बाहिरिने भन्ने विषयमा नेकपा माओवादी केन्द्रका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् । विहानैदेखि भएको यो छलफलले आजै मन्त्रीहरुलाई सरकारबाट राजीनामा दिन लगाउने तयारी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
यसअघि बिहीबार नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आज आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका थिए ।
नेकपा माओवादी केन्द्रले यसअघि संसदीय दलको बैठकबाट एमसीसी संसदमा टेबल भएको खण्डमा सरकारमा नरहने र गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी फेल गराउने रणनीतिका साथ योजना बनाएका छन् । उनीहरुले सरकारको प्रस्तावलाई फेल गराउने रणनीति बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न नेकपा एमालेसँग सहकार्यको प्रस्ताव गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


