एजेन्सी, १२ फागुन । युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आधुनिक युगका ‘हिटलर’ भएको बताएका छन् ।

पोरोसेन्को हाल युक्रेनका सांसद हुन् । उनले आज दुखद दिन भए पनि जित युक्रेनको हुने बताए ।

युक्रेनको राजधानी किफमा सांसदहरूको आपतकालीन बैठक बस्दैछ । बैठकमा सहभागी हुन पुगेका पोरोसेन्कोले संसदबाहिर पत्रकारसँगको कुराकानीमा पुटिनलाई आधुनिक हिटलर भनेका हुन् ।

पोरोसेन्को सन् २०१४–१९ सम्म युक्रेनको राष्ट्रपति थिए । एक युक्रेनी पत्रकारले बिबीसीलाई संसदको वातावरण तनाबपूर्ण रहेको बताए ।

बिहीबार बिहान पुटिनले युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । यसपछि युक्रेनको धेरै क्षेत्रमा हवाई हमला भएको छ ।

युक्रेनले रुसको आक्रमणमा अहिलेसम्म सात जनाको ज्यान गएको जनाएको छ । अधिकारीहरूले आक्रमणमा सैन्य अड्डाहरूलाई निशाना बनाएको बताएका छन् ।

रुसले नागरिक लक्षित हमला गरेको कुरा अस्वीकार गरेको छ । आफ्नो सम्बोधनमा पुटिनले युक्रेनी सेनालाई हतियार बिसाउन आग्रह गरेका थिए र यस मामिलामा कसैले हस्तक्षेप नगर्न चेतावनी दिएका थिए ।