काठमाडौं, १२ फागुन । कीर्गिस्तानमा आगामी अप्रिलमा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमको प्रशिक्षण शुक्रबारबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार दिन काठमाडौंंमा खेलाडीलाई शुरुवाती प्रशिक्षण दिएर पोखरामा बन्दसत्र सुरु गर्ने जनाएको छ । प्रशिक्षक गौरव बस्नेतले ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । शुरुवाती चार दिनको प्रशिक्षण चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा हुनेछ ।

१ देखि १५ अप्रिलसम्म आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपाल सम्मिलित समूहमा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान जस्ता बलिया टोली छन् ।

प्रशिक्षक बस्नेत नेपालको समूह बलिया टिम रहेका र त्यसका बाबजुद पनि दोस्रो चरणमा स्थान बनाउन खेल्ने बताउँछन् । ‘समूहका तीनै विपक्षी बलिया छन् । हाम्रो लक्ष्य दोस्रो चरणमा स्थान बनाउन हुनेछ । त्यहि अनुसार तयारी गर्छौं,’ उनले भने ।

यस प्रतियोगिताबाट नेपालले पहिलो पटक फुटसल वरीयता पाउनेछ । फुटसल वरीयता पाउन कम्तिमा पनि आधिकारिक १० खेल खेलेको हुनुपर्छ । नेपालले यसअघि दुई पटक एएफसी फुटसलमा सहभागिता जनाएको छ ।