काठमाडौं, १२ फागुन । एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा भेला भएका छन् ।

संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ । त्यहाँ प्रहरीले सडक बन्द ब्यारिकेड राखेको छ ।

सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ ।

विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै प्रहरी उपरीक्षकको नेतृत्वमा २ हजार ४ सय प्रहरी खटाइएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच मुठभेट भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।