काठमाडौं, ११ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गत मार्च तेस्रो साता नेपाल, आयोजक युएई र पपुवा न्युगिनी (पिएनजी) बीच हुने त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका बाहिरिएको छ ।

क्रिकेटसम्बन्धी चर्चित वेबसाइट क्रिकवजका अनुसार नेपालले पिएनजीविरुद्ध खेल्दै सिरिजको शुरुवात गर्नेछ । यो खेल १६ मार्चमा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दोस्रो र तेस्रो खेल युएईविरुद्ध क्रमशः १८ र २१ मार्चमा खेल्नेछ । यी दुवै खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।नेपालले अन्तिम खेल पिएनजीविरुद्ध २२ मार्चमा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ ।

क्रिकवजले खेल तालिका बाहिर ल्याए पनि आधिकारिक रूपमा भने सार्वजनिक गरिएको छैन । नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ ।

नेपालले २०२० मा त्रिवि क्रिकेट मैदानमा ओमान र अमेरिकासँग तथा गएको असोजमा ओमानमा पनि यी दुई टोलीसँगै त्रिकोणात्मक सिरिज खेलेको थियो ।

सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सिधै त्यही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले भने प्लेअफ खेल्नुपर्ने हुन्छ ।

२३ खेलमा १५ जित र ७ हारसहित ३० अंक जोडेको ओमान शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड १२ खेलमा सात जित, तीन हार र २ खेल विना नजितासहित १६ अंकका साथ दोस्रो स्थानमा छ ।

१६ खेलमा सात जित र नौ हारको नजिता निकालेको अमेरिका १४ अंक जोडेर तेस्रो स्थान तथा १० खेलबाट पाँच जित, तीन हार र २ खेल विना नजिता टुङ्गाएको युएई १२ अंकका साथ चौथो स्थानमा छन् ।

९ खेलमा पाँच जित र चार हार बेहोरेको नामिविया १० अंकका साथ पाँचौं तथा नेपाल ८ खेलमा समान ४ जित र हारसहित ८ अंकका साथ छैटौं स्थानमा रहँदा १२ खेलमै पराजित पपुवा न्युगिनी विना अंक अन्तिममा छ ।