महिला टि–२० : नेपाल एपिएफ क्लबको लगातार दोस्रो जित

काठमाडौं, ११ फागुन । ललितपुर मेयर महिला टि–२० च्याम्पियनसिपमा साविक विजेता नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
बुधबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै एपिएफले लगातार दोस्रो जित हात पारेको हो ।
९० रनको लक्ष्य एपिएफले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि अविजित रहेका रोमा थापाले २३ तथा ममता चौधरीले १४ रन जोडे । ज्योति पाण्डेले ११ र इन्दु वर्माले १० रन बनाए ।
सुदूरपश्चिमका लागि ईश्वरी विष्टले दुई तथा कप्तान ऋतु कनौजियाले एक विकेट हात पार्दा एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।
सदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ रनको योगदान दिइन् । डोली भट्ट र विन्दु रावलले ११÷११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपिएफका लागि सोनु खड्काले तीन, करुणा भण्डारी र कप्तान सीता रान मगरले दुई÷दुई तथा राजमती ऐरीले एक विकेट हात पार्दा दुई विकेट रन आउटको रूपमा प्राप्त भयो ।
यो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय बेहोरेको सुदूरपश्चिमको दुई अंक छ । पहिलो खेलमा एपिएफले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दा सुदूरपश्चिमले ललितपुर मेयर–११ लाई ५८ रनले हराएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


