नेपालको टि–२० विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं, १० फागुन । यूएईसँग ६८ रनले पराजित हुँदै नेपालको टि–२० विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।
टि–२० विश्वकप छनोटको मंगलबार भएको सेमिफाइनल खेलमा नेपाल यूएईसँग पराजित भएको हो ।
यूएईले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १०७ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ तथा ज्ञानेन्द्र मल्लले २० रन बनाए । आरिफ शेखले ११ रन बनाउँदा अरू कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यूएईका लागि अहमद राजाले ५ विकेट तथा जुनैद सिद्धिकीले ३ विकेट लिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । यूएईका लागि मोहम वसिमले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७० रन बनाए । त्यस्तै, भ्रित्य अरभिन्दले पनि ४६ रनको योगदान दिए भने मोहमद उसमानले १७ रन बनाए । नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए । कप्तान सन्दीप लामिछानले १ विकेट लिए ।
नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको थियो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।
नेपाललाई हराएको यूएई भने अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट भएको छ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


