भक्तपुर, १० फागुन । भक्तपुरको महेश्वरी खेल मैदानबाट नेपालको राष्ट्रिय झण्डा चोरी भएको छ ।

सोमबार साँझसम्म रहेका झण्डै दुई दर्जन ठूलाठूला राष्ट्रिय झण्डा मंगलबार बिहान चोरी भएका हुन् ।

प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झण्डा राखेका थिए ।

अहिले मञ्चमा दुईवटा झण्डा मात्रै बाँकी छन् । मैदानको चारैतिरको बारमा डोरीले बाँधेर राखेका १८ वटा झण्डा चोरी भएका हुन् ।

झण्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य विभिन्न सामान पनि चोरी भएको आयोजकले जनाएको छ ।

आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवांले प्रतियोगिता स्थललाई सभ्य र भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न राखिएका नेपालको राष्ट्रिय झण्डा चोरी हुनु दुःखद भएको बताए । झण्डा चोरमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेल मैदानमा ६ फागुनदेखि भक्तपुर कप फुटबल प्रतियोगिता भइराखेको छ ।

प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँदै छन् । प्रतियोगिताको फाइनल १४ फागुनमा हुने आयोजकले जनाएको छ ।