उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुडको अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च

एजेन्सी, १० फागुन । युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ ।
रूसले पूर्वी युक्रेनको दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ ।
रूसले युक्रेनी पृथकतावादीको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिएको छ र आफ्नो सेनालाई ती क्षेत्रमा पठाउन आदेश दिएको छ । रूसको यो निर्णयपछि बेलायत र अन्य धेरै पश्चिमी देशले रूसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
जसका कारण विश्वभर तेलको आपूर्ति शृंखला प्रभावित हुने डर छ । साउदी अरेबियापछि रूस विश्वको दोस्रो ठूलो तेल निर्यातक हो ।रूस प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक पनि हो ।
युक्रेन र रूसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन् । म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन्हले सीमा तनावले ‘पर्याप्त प्रभाव’ पर्न सक्ने बताइन् ।
सु ट्रिन्हले बीबीसीलाई ’रूसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने’ बताइन् । कच्चा तेलको मूल्यप्रति ब्यारेल १०० डलर पुग्न सक्ने पनि आशंका गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


