काठमाडौं, १० फागुन । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ७ महिनामा खोपको आयात उच्चदरमा बढेको छ ।

कोरोना रोकथामका लागि सरकारले ठूलो मात्रामा खोपको आयात गरेपछि सातमहिनामै उच्च आयात भएका १० वस्तुमध्ये ८ औं स्थानमा खोप परेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनयताका सात महिनामा २६ अर्ब ८५ करोड ९ लाख ७६ हजार मूल्य बराबरको खोप आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो गतवर्षको तुलनामा २५ अर्ब ५० करोड ७४ लाख ६८ हजार रुपैयाँले बढी हो ।

गत वर्ष यही अवधिमा १ अर्ब ३४ करोड ३५ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको खोप आयात भएको थियो । सामान्य अवस्थामा भन्दा कोरोना महामारी विरुद्धको खोप अभियान सञ्चालन भएपछि खोप आयात ह्वात्तै बढेको हो ।

यो सातमहिनाको अवधिमा २ लाख ४० हजार केजी परिमाणको खोप आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष यही अवधिमा ३९ हजार ७८५ केजी परिमाणको खोप आयात भएको थियो ।