जनकपुरधाम, १० फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेका पूर्वराष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लाल आफ्नो टिमसहित आजदेखि औपचारिक रुपमा तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी नेता लालसहित संविधान सभा सदस्य डा.विजय कुमार सिंहसमेत लोसपा परित्याग गरी रविशंकर कुमार कर्णको नेतृत्वमा नवगठित तमलोपामा प्रवेश गरेका हुन् ।

नेता लाल र सिंहसहित लोसपामा आबद्ध ११४ जना नेता कार्याकर्ताहरु आजदेखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएका छन् । लोसपा नेपाल परित्याग गरेका नेता लाल र सिंह तमलोपा पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिबिधि गर्ने भएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता लालले वर्तमान स्थितिमा मधेसको जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन एवम् संघियताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकोले आफूहरु आवद्ध रहेको आ–आफ्ना दलहरू आजैदेखि परित्याग गर्दै ‘तराई–मधेश लोकतान्त्रिक पार्टी’ मा समावेश भएको बताए ।

मधेस आन्दोलनको मर्म र भावना बिपरित मधेसका नेताहरु सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि आन्दोलनकारीहरुको भावनालाई सम्वोधन गर्न लोसपा परित्याग गरेको उनले बताए ।

‘मधेसका जनताले देशमा विविधताको पहिचान र मान्यता, संघीयता, समावेशिता, क्षेत्रीय स्वशासनको निमित्त ठूलो संघर्ष गर्दै आएको छ । यसका निमित्त सयौं शहादत र हजारौं आन्दोलनकारीहरुको रगत बगेको छ । मधेशको यो एजेण्डा देशकै बहुआयामीक रुपान्तरण, विविधतापूर्ण साझा राष्ट्रियता र समतापूर्ण विधिको शासन निर्माणको निमित्त ऐतिहासक एजेण्डा हो,’उनले भने,‘यसै एजेण्डाको सम्बोधनका लागि मधेसले प्रतिनिधि राजनीतिक दलहरूमा सहभागी भएर, यीनलाई समर्थन गरेर सिंच्यो । आन्दोलनहरुबाट प्राप्त सम्पूर्ण उर्जा प्रदान गर्यो । तर मधेशका राजनीतिक दलका नेतृत्वपंक्ति जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेण्डालाई थाम्न सक्ने, गन्तव्यको दिशामा बोकेर आगाडि बढाउन सक्ने सामर्थ्य देखाउन सकेनन् ।’

संविधान सभा सदस्य डा.सिंहले भने,‘जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हाटमा सुम्पिने काम गर्यो । आज मधेसको प्रतिनिधित्व गर्ने कुनै राजनीतिक दल छैन । बृहत् राजनीतिक शक्तिको निर्माणको नाममा सरकारहरु बनाउन भएका एकीकरण वा विभाजनले मधेस केन्द्रित दलहरूको अस्तित्व नै रहेन ।’

‘नेतृत्व–पंक्ति मधेश केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन् । स्वभावतः लोकतन्त्रवादी मधेशी, जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ । भूमि, इतिहास, भाषा, संस्कृति, जीवनशैली बोकेको मधेश ‘राष्ट्र’लाई जात र सम्बन्धवादमा विभाजित गरी सिमित गर्न खोजिएको छ,’उनले भने ।