जनमतद्वारा जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन

जनकपुरधाम, १० फागुन । जनमत पार्टीका कार्यकर्ताहरुले मंगलबार जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
जनमत पार्टीको आह्वानमा पार्टीका कार्यकर्ताहरुले संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध चर्को नाराबाजी गर्दै विरोध रयाली निकालेका हुन् ।

किसानहरुको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिव दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरुले निकालेको विरोध रयाली नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए । उनीहरुले जिल्ला निर्वाचन कार्यालय समेत घेराउ गरेका छन् ।
जनमतका कार्यकर्ताहरुले निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका हुन् ।

रासायनिक मल र बिउ बिजनको अभावमा कतिपय किसानहरुको खेत अझै बाँझो रहेको र नगदे बालीको रुपमा रहेका उखु किसानको बक्यौता रकम तथा उचित मूल्य निर्धारण हुन नसक्दा किसानहरु खेतीपाती गर्नबाट विस्थापित भई पलायन हुने अवस्थामा पुगेकोले किसानहरुको माग अविलम्ब सम्बोधन गर्न जनमतले माग गरेको छ ।

जनमत पार्टीको धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । आफूहरूले किसानका मुद्दा सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने उनले चेतावनी दिएका हुन् ।

जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


