काठमाडौं, १० फागुन । स्थानीय तहको निर्वाचनको घोषणाविरुद्ध दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको निर्वाचन मिति घोषणा गरे पनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै रिट दायर गरिएको थियो ।

महोत्तरीको भँगहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेशी आजलाई तोकिएको छ ।

सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि इजलासको आदेशबाट रिट दर्ता भएको थियो ।

०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, यस पटक ७५३ वटै स्थानीय तहको निर्वाचन एकै पटक गर्न लागिएको हो ।