एजेन्सी, ९ फागुन । चीनको राजधानी बेइजिङमा सरकारको सहयोगमा सञ्चालित मेडिकल बीमा योजनामा एक दर्जनभन्दा बढी प्रजनन सेवाहरू समेटिने भएका छन् ।

चीनको जन्मदर घटिरहेका बेला बच्चा जन्माउन चाहने दम्पतीलाई सहयोग गर्ने पहलस्वरूप थप प्रजनन् सेवाहरू समेटिन लागिएको हो ।

सहायता प्रजनन प्रविधि (एआरटी) प्रयोग गरेर कुल १६ मेडिकल सेवालाई २६ मार्चदेखि सहरको राज्य बीमाले समेट्ने जनाइएको छ ।

सुरक्षात्मक प्रजनन उपाय चाल्ने एउटा कदमस्वरूप धेरै मेडिकल सेवालाई बीमामा समेट्न लागिएको बेइजिङ डेलीले जनाएको छ ।

नयाँ प्रजनन योजनाले सेवाग्राहीको खर्च घटाउने र बच्चा जन्माउन खोज्ने कम आय भएका दम्पतीलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।त्यस्तै, नयाँ योजनाले निजी मेडिकल बीमामा थोरै पहुँच वा पहुँच नै नभएकालाई सहयोग गर्नेछ ।

सरकारी तथ्यांकअनुसार चीनको जन्मदर सन् २०२१ मा दशकौंपछि पहिलो पटक ह्वात्तै गिरावट आएको छ । गत वर्ष राष्ट्रिय सरकारले दम्पतीहरूलाई तीनवटा बच्चाहरू जन्माउन अनुमति दिएको थियो ।