‘ए’ डिभिजन लिग : सोमबार सम्पन्न खेलमा सातदोबाटो युथ क्लब विजयी

काठमाडौं, ९ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ ।
सातदोबाटोले त्रिपुरेश्वस्थित दशरथ रंगशालामा ब्रिगेड ब्वाइज क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो ।
यो पराजयसँगै ब्रिगेड एक खेल अगावै दोस्रो डिभिजनमा झर्ने पक्का भएको छ । योसँगै यो सिजनको ए डिभिजन लिगबाट घटुवा हुने दुई टोलीको पनि टुङ्गो लागेको छ । यो सिजन ब्रिगेडसँगै च्यासल युथ क्लब पनि दोस्रो डिभिजनमा झ¥यो ।
१३ औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । कप्तान मान बहादुर तामाङको क्रसमा बर्टान्ड इवोडे ओटोउले नभेटेको बललाई सुशिलले सहजै पोस्टको दिशा दिएका थिए ।
१६ औं मिनेटमा बर्टान्ड इवोडे ओटोउले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोर्जे तामाङको फ्रिकिकमा रुडी जोनाथनको प्रहार क्लियर हुन नसकेको अवस्थामा बर्टान्डले गोल गरेका थिए ।
१८ औं मिनेटमा दीपकराज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । अजायी मार्टिन्सको हेड पासलाई दीपकले ब्रिगेडका गोलरक्षक गुरुप्रित सिंह अघि बढेको अवस्थाको फाइदा उठाउँदै जाली चुमाएका थिए ।
५१ औं मिनेटमा रोशन राना मगरले गोल गर्दै ब्रिगेडलाई २–२ को बराबरीमा ल्याए । उनले मनोज राईको फ्रिकिकमा दोर्जे लामाको हेडर सातदोबाटोका गोलरक्षक अभिषेक बरालले नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई पोस्टको दिशा दिए ।
८७ औं मिनेटमा निरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३–२ को रोमाञ्चक जित दिलाए । उनले सुदिप गुरुङको पासलाई सदुपयोग गरे ।
यो जितसँगै १२ खेलमा १८ अंक जोडेको सातदोबाटो पाँचौ स्थानमा उक्लिँदा समान खेलबाट ७ अंकका साथ ब्रिगेड १३ औं स्थानमा यथावत छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


