जिल्ला सभापतिका लागि प्रसैलाको उम्मेदवारी

जनकपुरधाम, ९ फागुन । फागुन १५ गते हुन लागेको नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनमा सभापति पदका लागि दिनेश प्रसाद प्रसैलाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
जिल्ला सभापतिका लागि शेखर कोइराला समूहले प्रसैलालाई आफ्नो उम्मेदवारको रुपमा अगाडी बढाएको हो ।
सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम जिल्ला सभापतिका लागि घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै सहमहामन्त्री पाण्डेले जिल्ला अधिवेशनमा आफ्नो समूहको जित सुनिश्चित रहेको दाबी गरे ।
‘पार्टी महाधिवेशनमा इतर पक्षमा ४० प्रतिशत मत आएको थियो । अहिले देउवा पक्ष आफै विभाजित रहेकाले हाम्रो जित पक्का हुन्छ,‘उनले भने ।
सभापतिका उम्मेदवार प्रसैलाले आफु सभापति बनेपछि जिल्लाको सबै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी बनाउने बताए । उनले चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन नकसे आफुु पदबाट राजिनामा दिने समेत बताए ।
यसअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट संतोष यादव र विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार जिल्ला सभापतिका उम्मेदवार बनेका छन् ।
इतर समूहबाट उम्मेदवार बनेका प्रसैला पूर्व सांसद हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


