काठमाडौं। ८ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा प्राप्त आवेदनका आधारमा मकवानपुरका २९ वटा विद्यालय छनोट भएका छन् ।

तीमध्ये २७ वटा विद्यालयमा शैक्षिक सुधारका लागि आइसिटी ल्याब स्थापना र एक विद्यालयमा प्राविधिक ल्याब स्थापना र एक विद्यालयलाई भवन निर्माण गर्न अनुदान दिने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा २९ विद्यालयले अनुदान पाएका हुन् । अनुदान पाउनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय छन् । उपमहानगरपालिका भित्रको आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रलाई चार कोठे भवन निर्माण गर्न ३६ लाख रुपैयाँ अनुदान दिइने भएको छ ।

हेटौंडाकै प्रगति मावि, महेन्द्र किरण मावि, महेन्द्र मावि, जनजागृति मावि, बालबोध मावि, ज्योति मावि, अमर मावि र अरनिको माविलाई आइसिटी ल्याब स्थापना गर्न सरकारले अनुदान दिने भएको छ ।

यी सबै विद्यालयले ६ लाख ५० हजार रुपैयाँका दरले रकम पाउने छन् । कैलाश गाउँपालिकाको एकमात्र कालिका मावि, इन्द्रसरोवर गाउँपालिकाको पञ्चकन्या मावि, मनहरीको एकमात्र युवावर्ष आधारभूत विद्यालय छनौट भएका छन् । यसैगरी, बागमती गाउँपालिकाको देवकी मावि, सूर्य मावि र जनता माविले आइसिटी ल्याब बनाउन अनुदान पाउने भएका छन् ।

बकैया गाउँपालिकाको कर्मप्राप्ति मावि, महेन्द्र मावि, बुद्ध मावि, बाघभैरव मावि, कालिका मावि, कालीदेवी मावि छनौट भएको जनाइएको छ । थाहा नगरपालिकाको बागेश्वरी मावि, सुनौला मावि, इन्द्रायणी मावि, स्वच्छन्दभैरव माविले आइसिटी ल्याब बनाउन जनही ६ लाख ५० हजार रुपियाँ अनुदान रकम पाउने भएका हुन् ।

मकवानपुरगढी गाउँपालिकाको बंशगोपाल माविले भने प्राविधिक ल्याब बनाउन १० लाख अनुदान रकम पाउने भएको छ । बंशगोपाल माविले प्राविधिक शिक्षालय पनि सञ्चालन गरिरहेको छ ।

यस्तै, मकवानपुरगढीकै जनक मावि र भीमफेदी गाउँपालिकाको लेकाली बसीफाँटले आइसिटी ल्याब स्थापनाका लागि अनुदान पाउने भएका छन् । जिल्लाकै विकट राक्सिराङ गाउँपालिकाका कुनैपनि विद्यालयका लागि अनुदान स्वीकृत भएको छैन ।

देशभरका ४ हजार १५७ सामुदायिक विद्यालय अनुदानका लागि छनोट भएका छन् । छनोट भएका मध्ये चार कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आइसिटी ल्याब व्यवस्थापन २ हजार १०६, प्राविधिक ल्याब ८८ र २१ वटा नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको छ ।