एजेन्सी, ८ फागुन । युरोपमा युनाइस आँधीका कारण १३ जनाको मृत्यु भएको छ ।

आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित भएका छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरू ढलेका छन् र सडक अवरुद्ध बनेका छन् ।

आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरूले प्रयास गरिरहेका छन् ।

युरोपमा यो साता असर गर्ने युनाइस दोस्रो पटक नाम राखिएको आँधी हो । पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चेतावनी दिइएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ ।

‘युनाइस आँधीले साँच्चि नै एक मुक्का प्रहार गरेको छ’, जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भने ।

ठूलो हुरीका कारण बेलायतमा विमान चालकहरूले अवतरण रोक्न बाध्य भएका थिए ।