काठमाडौं, ८ फागुन । सर्वोच्च अदालतमा विचाराधीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धी रिट आइतबार पनि स्थगित भएको छ ।

यसअघि सर्वोच्चले २ फागुनसम्मका लागि पेशी स्थगित गरेको थियो । यसअघि नै तीनपटक यो रिटमा सुनुवाइका लागि पेशी चढेपनि दुवै पटक सरेको थियो ।

सरकारले १ कात्तिकमा तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै १३ गते टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।

सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ति खारेजीको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सिलवाल पूर्वप्रधानमन्त्री केपी ओलीको कार्यकालमा राखेप सदस्यसचिवमा नियुक्त भएका थिए । गठबन्धन सरकार आएसँगै सिलवालको कार्यक्षमतामा प्रश्न उठाउँदै वर्तमान सरकारले उनलाई बर्खास्ती गरेको थियो ।

हाल राखेपमा कार्यकारीको रूपमा कुलबहादुर थापा रहेका छन् ।