काठमाडौं, ८ फागुन । नेपाल खेलकुद महासंघले विभिन्न विधाका खेलाडीलाई सम्मान गरेको छ ।

ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबल खेलाडीलाई उनीहरूले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो ।

जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरियो ।सोही अवसरमा खेल प्रेमीले संकलन गरेको २० हजार नगद पनि प्रिन्सलाई प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो ।

बहराइनको मानामा भएको चौथो युथ एसियन पारा गेम्समा पदक जित्न सफल ३ पारा तेक्वान्दो खेलाडीसहित ५ सदस्यीय टोली पनि सम्मानित भए । स्वर्ण विजेता पलेशा गोवद्र्धनलाई १५ हजार, रजत विजेता सिर्जना घिसिङलाई १० हजार र कास्य विजेता विशाल गर्बुजालाई ५ हजार नगदसहित सम्मान गरियो । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक नन्दा बस्याललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीलाई सम्मान गरियो । १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई १ लाख रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत (कृष्ण) लगायतले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा तेक्वान्दोको प्रदर्शनी खेल प्रस्तुत गर्ने नेपाल टाइगरका टोलीलाई प्रोत्साहन स्वरुप राष्ट्रिय खेलकुद परिषद् एवं कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले नगद २० हजार प्रदान गरेका थिए ।