एमसीसी विवाद : समितिमा लैजाने प्रचण्डको प्रस्ताव, देउवाको आफ्नै अडान

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई संसदमा भन्दा पनि संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् ।
बालुवाटारमा आइतबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव राखेका हुन् ।
आजै बस्ने संसद बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरेको छ । यसबारे अन्तिम छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरू बिहान बालुवाटारमा भेला भएका थिए ।
बैठकपछि प्रचण्डले राखेको भनाइबारे प्रष्ट पार्दै प्रचण्डको सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेडले यदि तपाईं टेबल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो, तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ ।’
देउवा यसअघि देखि नै संसदमा टेबल गर्नुपर्ने अडानमा थिए । प्रचण्ड सचिवालयका अनुसार उनले आफ्नो अडान आज पनि दोहो¥याएका हुन् । शनिबार बसेको सत्तारूढ नेकपा एकीकृत समाजवादीले संसदमा टेबल गर्ने निर्णय गरेपछि माओवादी अप्ठ्यारोमा पुगेको थियो ।
सत्ता गठबन्धनले भने एमसीसी संसदमा टेबल गर्नका लागि सहमति भएको बताएको छ । प्रचण्ड सचिवालयले प्रष्ट पार्दै भनेको छ, ‘अध्यक्ष प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएता पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरू कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


