काठमाडौं, ७ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबारको खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ । उसले त्रिपुरेश्वस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।

यो हारसँगै च्यासल दोस्रो डिभिजनमा झर्ने पक्का हुँदा फ्रेन्ड्सले केही राहत पाएको छ । च्यासल विसं २०७३ सालमा ए डिजिजनमा उक्लिएको थियो ।

फ्रेन्ड्सका लागि दुवै गोल जमोल एन्थोनी फ्रेन्कोइसले गर्दा च्यासलका मोसा अबगानाले एक गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा जमोलको गोलमार्फत् फ्रेन्ड्सले अग्रता लिएको थियो । ४३ औं मिनेटमा जमोलले नै पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० ले अघि बढाए ।

५६ औं मिनेटमा मोसा अबगानाले पेनाल्टीमार्फत् गोल गर्दै च्यासललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

यो जितसँगै १२ खेलमा १० अंक जोडेको फ्रेन्ड्स १२ औं तथा समान खेलबाट ६ अंकका साथ च्यासल अन्तिम स्थानमा यथावत छ ।