आइतबार एमसीसी संसदमा टेबल हुने पक्का

काठमाडौं, ७ फागुन । आइतबार एमसीसी सम्झौता संसदमा टेबल हुने पक्का भएको छ ।
सत्ता गठबन्धनमा भएको छलफलमा एमसीसी टेबल गर्न नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सहमत भएसँगै आइतबार संसदमा पेस हुने भएको हो ।
अमेरिकाको निरन्तर दबाब र प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासपछि निकास निस्किएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन जसरी पनि जोगाउनका लागि एमसीसी संसदमा टेबल गर्न सहमत भएका हुन् ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पाँच महिनाअघि एमसीसीलाई संयुक्त पत्र लेखेर २८ फेब्रुअरीभित्र निर्णय दिने प्रतिबद्धता जनाएका थिए । अमेरिकाले चार वर्षअघि भएको एमसीसी सम्झौता १६ फागुन (२८ फेब्रुअरी)भित्र संसदबाट अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै अनुमोदन गर्न दबाब बढाएको छ ।
शनिबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले एमसीसी संसदमा टेबल गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अन्तिम निर्णय आइतबार संसद बैठकअघि बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्ने जनाइएको छ ।
प्रचण्ड र नेपालले संसदमा टेबल गर्न सहमति जनाए पनि एमसीसी सम्झौता संशोधन नगरी छलफल र निर्णयार्थ प्रस्तुत गर्न नसकिने अडानमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


