जनकपुरधाम, ७ फागुन । प्रादेशिक अस्पताल जनकपुरको लापरवाहीका कारण एक सुत्केरी महिलाले अनाहकमा ज्यान गुमाएकी छन् ।

नर्मल डिलेभरीबाट बच्चा जन्माएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नम्बर–५ लवटोली बस्ने ३० वर्षीया आरती यादवको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

प्रसव पिडा लागेपछि फागुन ५ गते प्रादेशिक अस्पतालमा भर्ना भएकी यादवले फागुन ६ गते साँझ बच्चा जन्माएकी थिइन् । बच्चा जन्मेको ९ घण्टा पश्चात सुत्केरी यादवको मृत्यु भएको उनका जेठाजु सिताराम यादवले बताए ।

यादवको स्वास्थ्य अवस्था सम्बन्धमा डयुटीमा रहेकी नर्स नैनतारा साह र अम्बिका यादवलाई पटक पटक जानकारी गराएपनि उनीहरुले कुनै चासो नलिएको परिवारजनको आरोप छ ।

यादवको मृत्यु भएपछि मात्र चिकित्सकहरु आएर घटनालाई ढाकछोप गर्न आईसियूमा भर्ना गरेको मृतकका आफन्त शशि यादवले बताए । मृतक आरतीको श्रीमान वैदेशिक रोजगारीमा छन् ।

घटना सम्बन्धमा प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. प्रमोद यादवले कुनै कुनै प्रसुतिमा यस्तो घटना हुने गरेको जिकिर गरेका छन् । घटनाको बचाउ गर्दै यसमा अस्पतालको कुनै लापरवाही नरहेको उनले दावी गरेका छन् ।