एजेन्सी, ६ फागुन । भारतको गुजरात राज्यको अहमदाबाद सहरमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विष्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

एउटा विशेष अदालतले शुक्रबार सो सजाय सुनाएको हो । सो विष्फोटमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएको थियो । सन् २००८ को २६ जुलाईमा भएको श्रृंखलाबद्ध विष्फोटमा ५६ जनाले ज्यान गुमाएका थिए ।

७० मिनेटको अन्तरालमा भएका २१ ओटा विष्फोटका घटनामा २०० भन्दा बढी घाइते भएका थिए । सो घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका छन् ।

फेब्रुअरी ८ मा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनालाई सफाइ दिएको थियो । १३ वर्ष पुरानो मुद्दामा अदालतले गत वर्ष सेप्टेम्बरमा सुनुवाइ समाप्त गरेको थियो ।

प्रहरीले प्रतिबन्धित स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया (एसआइएमआई) को गुट इन्डियन मुजाहिद्दिन नामक अतिवादी समूहमा आबद्ध व्यक्ति सो घटनामा संलग्न रहेको दाबी गरेको थियो ।