काठमाडौं, ६ फागुन । आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

ओमानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

उसका लागि नसीम खुसीले सर्वाधिक २४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कमलसिंह ऐरीले तीन, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीले दुई÷दुई, अविनाश बोहरा र जितेन्द्र मुखियाले एक÷एक विकेट लिए ।

त्यसअघि, अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रनको योगदान दिए । ३७ बलको सामना गरेका उनले दुई चौका प्रहार गरे । १६ रनमा अविजित रहेका कप्तान सन्दीप लामिछानेले सात बलमा समान एक चौका र छक्का प्रहार गरे ।

लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५ र दीपेन्द्रसिह ऐरीले ११ रनको योगादान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

ओमानका लागि खावर अलीले तीन, बिलाल खानले दुई तथा फयाज बट र कप्तान जीशान मक्सूदले समान एक विकेट लिए । ओमानलाई एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।