एजेन्सी, ५ फागुन । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म ४ करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका ४ करोड १९ लाख १० हजार ९८४ जना सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३ लाख ३२ हजार ९१८ रहेको छ ।

कोरोनाका कारण भारतमा पछिल्लो एक दिनमा ५४१ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म ५ लाख १० हजार ४१३ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।