जनकपुरधाम, ५ फागुन । धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले कार्यालयको प्रशासनिक काममा हस्तक्षेप गरेको आरोप लागेको छ ।

मेयर मण्डलको कार्यशैली ठिक नरहेको भन्दै नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएका हुन् ।

नगरपालिकाको जेसीवी, टिपर, ट्याक्टरको भाडा र मरम्मतमा अनियमितता, योजना–आयोजनाहरुलाई सूत्रमा इन्ट्री गर्न नदिई व्यक्तिगत लाभको योजना मात्रै समावेश गरेको, नगरको राजश्व छल्नेलाई संरक्षण गरेकोलगायतका आरोपहरु मेयर मण्डलमाथि लागेको छ ।

ज्ञापन पत्रमा मण्डलले गुण्डा शैलीमा सेवाग्राही तथा कर्मचारीलाई धम्काउने कार्य गर्दै आफू अनुकूल कर्मचारीलाई हाजिरी गराउनेलगायतका कार्य गरेकोले उनीमाथि कारवाहीको माग गरिएको छ ।

मेयर मण्डलले नगर सभाबाट आर्थिक वर्ष २०७८÷०७९ को लागी स्वीकृत भएको योजनाहरुलाई सूत्रमा इन्ट्री नगरी आफ्नो मनोमानी तरिकाले व्यक्तिगत स्वार्थ अनुसार सञ्चालनमा ल्याएको आरोपसमेत लगाइएको छ ।

विगत चार वर्षदेखि नगर प्रमुखले आफ्नो नजिकको कर्मचारी स्टोरमा राखी कार्यालयको सामग्री आफ्नो र आफन्तको घरमा प्रयोग गर्दै आईरहेको ज्ञापन पत्रमा उल्लेख छ । मेयर मण्डलले नगरपालिकाको जेसीवि, टिपर र ट्याक्टर भाडाको राजश्व अनियमित तबरले व्यक्तिगत रुपमा बुझेको र मरम्मत गर्न नगरपालिकाबाट रकम निकासा गरी सरकारी सम्पत्तीको दुरुपयोग गरेकोले कारवाही गर्न माग गरिएको छ ।

नगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर श्यामकुमार मण्डलले हंसपुर नगरपालिकाको फर्जी नगदी रसीद (हंसपुर गाउँपालिका) जारी गरी अनुमानित ४ लाख रकम हिनामिना गरेको र गलत कार्यलाई लुकाउन मण्डलले २०७७÷०७८ को नगर सभाबाट राजश्वको रकम कार्यालय प्रयोजनमा खर्च भएको भन्दै कम्प्युटर अपरेटरलाई संरक्षण गरी भष्टाचारलाई प्रवद्धन गरेको कुरासमेत ज्ञापन पत्रमा उल्लेख छ ।

एक कर्मचारीले भने,‘मेयर मण्डलले हंसपुर नगरपालिकाबाट खरीद भएको सामग्री ह्याण्ड पम्प, साइकललगायतका सामानहरु थन्काएर कार्यालयमा लामो समयदेखि राखेका छन् । उनले वितरण गर्नु पर्ने सामग्री गलत नियतले थन्काएका हुन् ।’

यससम्बन्धमा मेयर रामज्ञान मण्डलले आफूमाथि लागेको आरोप निराधार रहेको बताएका छन् ।

उनले भने,‘नगर सभाबाट स्वीकृत भएको योजनाहरुलाई सूत्रमा इन्ट्री गरेर नै सञ्चालनमा ल्याएको छु । भ्रष्टाचारी तथा नितिगच अन्याय गर्नेमाथि सम्बन्धित निकायलाई कारवाही गर्न जोडदार मागसमेत गर्दछु ।’