एजेन्सी, ४ फागुन । पाकिस्तानका किसानहरूले प्रधानमन्त्री इमरान खानको पुत्ला जलाएका छन् ।

किसानहरूले इमरान सरकारको किसान विरोधी नीतिको विरोधमा नारा लगाउँदै पुत्ला जलाएका हुन् । प्रदर्शनमा सहभागी सयौं किसानले इमरान सरकारको राजीनामा माग गरेका थिए ।

आन्दोलनरत किसानको नेतृत्वमा रहेको पाकिस्तान इत्तेहाद किसान नामक संगठनले मुल्तान सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन मंगलबार रंगु पुल खनेवाल–मुल्तान सडकमा तीन घण्टासम्म प्रदर्शन गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

केन्द्र र प्रदेश सरकारले किसानलाई गरेका वाचा पूरा गर्न नसकेको किसानहरूको भनाइ छ ।

मुल्तान बाहेक पञ्जाबका किसानहरूले पनि आफ्नो मागको समर्थनमा प्रदर्शन गरेका थिए।

पाकिस्तान इत्तेहाद किसानले अब राजधानी इस्लामावादमा पनि प्रदर्शन गर्ने योजना बनाएको छ । किसानले महँगो मल र बिजुली किन्न बाध्य भएको किसान नेताहरूको भनाइ छ ।