काठमाडौं, ४ फागुन । ओमानमा हुने आइसिसी पुरुष टि–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय टोली घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टोलीमा चारदेशीय टि–२० सिरिज खेलेका कुशल मल्ल, साहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिदाँ करण केसीको स्थानमा मौका पाएका गुल्सन झा भने अटाएका छन् ।

गुल्सनले पहिलोपटक टि–२० राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, आरिफ शेख, कुशल भुर्तेल, अविनाश बोहरा, आसिफ शेख, कमलसिंह ऐरी, विवेक कुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा

वैकल्पिक खेलाडी :

प्रदिप ऐरी, कुशल मल्ल र सहाव आलम

ग्लोबल छनोट ‘ए’मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म हुनेछन् ।

समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

नेपालले १८ फेब्रुअरीमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने आयोजक ओमानविरुद्धको खेलबाट छनोटको शुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमरेत क्रिकेट मैदानमा १९ फेब्रुअरी र समूह चरणको तेस्रो तथा अन्तिम खेल २१ फेब्रुअरीमा क्यानडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ ।

समूहको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरू २२ फेब्रुअरीमा हुनेछन् । फाइनल २४ फेब्रुअरीमा ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।

फाइनल प्रवेश गर्ने दुवै टोलीले अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आइसिसी पुरुष टि–२० विश्वकप खेल्ने छन् ।