५६ हजार ९०८ मात्रा खोप खेर

काठमाडौं, ४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको कोरोनाविरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा. गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको उल्लेख छ ।
मन्त्री खतिवडालाई सोमबार समितिले प्रतिवेदन बुझाएको थियो । समितिले तयार पारेको प्रतिवेदनमा ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप हालसम्म प्राप्त भएको जनाइएको छ ।
यस्तै, ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र १ करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी भएको देखिएको उल्लेख छ । कोरोनाविरुद्धको खोप छानबिन समितिको प्रतिवेदनअनुसार खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको बताइएको छ ।
यस्तै प्रतिवेदनमा कोभिडविरुद्धको खोप निःशुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ । यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ ।
खोप अभियान कार्यक्रममा लक्षित अभियान भन्दाबाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


