काठमाडौं, ३ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १५७ विद्यालय छानिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि ४ हजार १५७ विद्यालय छनोट गरिएको हो ।

छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे र ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिने मन्त्रालयले जनाएको छ ।

चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालयले ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम प्राप्त गर्ने छन् । राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ ।