काठमाडौं, ३ फागुन । मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनीष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत मनीष अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो ।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मनीषलाई शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको च्यासल युथ क्लबविरुद्धको खेलमा गम्भीर चोट लागेको थियो ।

च्यासलका केचा यान्निकसँग जुध्न पुग्दा उनी ६६ औं मिनेटमा मैदानमै बेहोस भएर ढलेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो । प्राथमिक उपचारपछि रंगशाला नजिकैको ब्लु क्रस अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

यो खेलमा विमल घर्तीमगर र सुनिल बलले गोल गरेपछि मछिन्द्र २–० ले विजयी भएको थियो ।